काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणका लागि प्रयास भइरहेको कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बताएकी छन् ।
हात्तीलाई नियन्त्रणमा लिन निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरी चौबीसै घण्टा अनुगमन गरिरहेको मन्त्री चौधरीले बताइन् ।
हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेको खण्डमा डार्ट गरी रेडियो कलर जडान गर्ने तयारी छ । हात्तीलाई चौबीसै घण्टा निगरानी गरिने तयारी छ ।
ध्रुवे हात्तीको आक्रमण परेर ज्यान गुमाएका मृतकको परिवारलाई तत्कालै राहत उपलब्ध गराइएको मन्त्री चौधरीले बताइन् ।उनका अनुसार प्रतिमृतक १० लाखका दरले जम्मा २० लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिएको छ ।
यसका अतिरिक्त राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट प्रतिमृतक ५० हजारका दरले थप १ लाख रुपैयाँ समेत पीडित परिवारलाई उपलब्ध गराइसकिएको मन्त्री चौधरीले जानकारी दिइन् ।
गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमण परी आमा–छोराको ज्यान गएको थियो । चितवनको माडी नगरपालिका वडा नम्बर १ घर भई हाल भरतपुर महानगरपालिका २३ बेलहट्टा २५ वर्षिया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको हो ।



प्रतिक्रिया