काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सिनियर प्रहरी अधिकृतहरूको काज तथा सरुवालाई लिएर सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सरुवा कुनै विशेष घटना वा अनुसन्धानसँग सम्बन्धित नभई नियमित प्रशासनिक प्रक्रिया मात्र भएको स्पष्ट पारेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको गत असार १८ र १९ गतेको पत्रानुसार नै उक्त काज सरुवा गरिएको उल्लेख छ।
‘सम्बन्धित प्रहरी अधिकृतहरूको काजसरुवा नियमित प्रशासनिक कार्य तथा प्रचलित कानूनी व्यवस्था र स्थापित प्रशासनिक प्रक्रिया बमोजिम गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त काज सरुवा कुनै विशेष घटना, अनुसन्धान, उजुरी वा अन्य कुनै विषयसँग सम्बन्धित नभई नियमित कर्मचारी व्यवस्थापनको सिलसिलामा सम्पन्न गरिएको नियमित प्रशासनिक प्रक्रिया हो।’
तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित नगर्न पनि प्रहरीले आग्रह गरेको छ। यस्ता अपुष्ट र भ्रामक सूचनाले आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने र प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने प्रहरीको भनाइ छ।
नेपाल प्रहरी सदैव कानूनी व्यवस्था, पारदर्शिता, निष्पक्षता तथा स्थापित प्रशासनिक प्रणालीको पालना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया