काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेको छ। संघका अध्यक्ष महाराज गुरुङले एक विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ पत्ता लगाउन र पीडितलाई न्याय दिन सरकारसँग माग गरेका हुन्।
युवा संघले घाइते नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनलाई आत्मदाहको स्थितिमा पुर्याउने कारणहरूको अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। साथै, घाइतेको सम्पूर्ण उपचार खर्च र उचित क्षतिपूर्तिको जिम्मेवारी राज्यले लिनुपर्नेमा संघले जोड दिएको छ।
विज्ञप्तिमा यस घटनालाई कुनै एक व्यक्तिको मात्र पीडा नभई नेपाली युवाले भोगिरहेको बेरोजगारी, अवसरको अभाव, सेवाप्रवाहको झन्झटिलो अवस्था र राज्यप्रतिको घट्दो विश्वासको प्रतिविम्बका रूपमा व्याख्या गरिएको छ।
सरकार गठन भएयता आर्थिक रूपमा संघर्षरत नागरिकभन्दा सम्पन्न वर्गको हितअनुकूल नीति र गतिविधिमा बढी केन्द्रित भएको आरोप संघले लगाएको छ। नागरिकलाई सहज सेवा, रोजगारी, आवास र सम्मानजनक जीवन सुनिश्चित गर्नुपर्ने राज्य दण्ड, जरिवाना र विस्थापनमुखी रूपमा प्रस्तुत हुँदा सुकुम्बासी समुदायका समस्या र पछिल्लो आत्मदाह प्रयासजस्ता घटना देखिएको संघको दाबी छ।
युवाका समस्या, गुनासा र आकांक्षालाई समयमै सम्बोधन गर्न नसके समाजमा निराशा र वितृष्णा अझै बढ्ने चेतावनी दिँदै युवा संघले सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन तथा युवालाई आशा र भविष्यको सुनिश्चितता दिने नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।



प्रतिक्रिया