काठमाडौँ । २०७९ माघ ११ गते इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले संघीय संसद् भवनअगाडि आत्मदाह गरेपछि तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका थिए। त्यतिबेला उनले फेसबुकमा लेखेका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
समय बदलिएको छ र तिनै बालेन शाह यतिबेला देशको प्रधानमन्त्री छन्। तर, उनकै कार्यकालमा बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि अर्का एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्।
आत्मदाहको प्रयास गर्ने २५ वर्षीय गणेश नेपाली मुगुको सोरु गाउँपालिका–१ का बासिन्दा हुन्। कृषि विषयमा स्नातक उत्तीर्ण उनी रोजगारी नपाएपछि काठमाडौँमा पठाओ चालकका रूपमा काम गर्दै आएका थिए।
प्रत्यक्षदर्शीका अनुसार सडक छेउमा पार्किङ गरिएको मोटरसाइकल काठमाडौँ महानगरपालिकाको नगरप्रहरीले नियन्त्रणमा लिन खोजेपछि गणेशले त्यो आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार भएको भन्दै नलैजान आग्रह गरेका थिए। नगर प्रहरीले उनको कुरा नसुनेपछि आक्रोश र विरक्तिका बीच उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।
घटनामा गम्भीर घाइते भएका गणेशको शरीरको करिब ५५ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्। उनको अहिले वीर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
यस दुःखद् घटनापछि सामाजिक सञ्जालमा प्रेमप्रसाद आचार्यको आत्मदाह हुँदा बालेन शाहले व्यक्त गरेको पुरानो पोष्ट फेरि चर्चामा आएको छ। त्यतिबेला राज्यको चरम असफलता देख्ने शाह आफैँ देशको प्रधानमन्त्री छन् ।
हिजो प्रेमप्रसाद आचार्यको घटनालाई ‘राज्यको चरम असफलता’ भन्ने प्रधानमन्त्री शाहले आज आफ्नै कार्यकालमा घटेको गणेश नेपालीको यो घटनालाई कुन रूपमा लिन्छन् र यसको जिम्मेवारी कसरी स्वीकार्छन् भन्ने कुरा जनचासोको मुख्य विषय बनेको छ।
प्रेमप्रसादको आत्मदाहका विषयमा बालेन शाहको पोस्ट




प्रतिक्रिया