काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई आएका चारवटा महत्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पेस गरिएका ती विधेयकहरूलाई उनले नेपालको संविधानबमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार प्रमाणीकरण भएका विधेयकहरूमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ रहेका छन्।
संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई यी विधेयकहरू बिहीबार नै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएका थिए। राष्ट्रपतिको प्रमाणीकरणसँगै अब यी चारवटै विधेयकहरूले कानुनको रूप लिएका छन् र यिनको कार्यान्वयनको प्रक्रिया तत्कालै अघि बढ्नेछ। विशेषगरी देशको आर्थिक सुशासन, सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र सहकारी क्षेत्रको नियमनका लागि यी कानुनहरू महत्वपूर्ण मानिएका छन्।



प्रतिक्रिया