सरकारको कामप्रति रास्वपा सांसद रञ्जु दर्शनाको असन्तुष्टि


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएकी छन्। सुकुमबासी व्यवस्थापनको विषय र गणेश नेपालीको आत्मदाहको घटनालाई जोड्दै उनले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सरकारको “१०० दिने कार्यसूची” को कार्यान्वयन प्रक्रियाप्रति प्रश्न उठाउँदै सांसद दर्शनाले सुकुमबासी व्यवस्थापनमा संवेदनशीलता नअपनाइएको आरोप लगाएकी छन्। ‘हिजो सुकुमबासी व्यवस्थापनको विषयमा बुँदा ९१ भन्दा अघि ९२ अघि सारियो,’ उनले भनेकी छन्, ‘दूध चुसाइरहेकी आमा, सुत्केरी, वृद्ध बा–आमाहरूलाई पनि एकै व्यवहार नगरियोस् भनेर सदनमा पटक–पटक आवाज राखेँ, सम्बन्धित निकायमा निवेदन पनि गरेँ। तर यो काम सरकारको तर्फबाट ठीक ढङ्गले भएन।’
रोग, शोक र भोकमा बग्ने आँशु कहिल्यै झुटो नहुने भन्दै उनले सरकार नागरिकको पीडाप्रति संवेनदशील हुनुपर्ने उल्लेख गरेकी छन्।

काठमाडौँमा गणेश नेपालीले गरेको आत्मदाहको घटनालाई लिएर दर्शनाले कुन परिस्थिति र बाध्यताका कारण नेपालीले आफूलाई जलाउने बिन्दुसम्म पुगे, त्यसको गहिरो खोजी हुनुपर्ने र त्यसैबाट सरकारले पाठ सिक्नुपर्ने उनको माग छ।

एउटा नागरिकले भौतिक रूपमै आत्मदाह गरेको प्रकृतिको चर्चा गर्दै उनले दैनिक रूपमा निराशा भोगिरहेका लाखौँ युवाहरूको अवस्थाबारे चिन्ता व्यक्त गरेकी छन्। दर्शनाका अनुसार दैनिक रूपमा “मैले सकिनँ, मरौँ कि क्या हो” भन्ने सोच आउने लाखौँ युवाका लागि जीवन सहज बनाउने खालको नीति सरकारले ल्याउनुपर्छ। यस्तो निराशा कमजोर मनोबलका कारण मात्र नभई सामाजिक–आर्थिक संरचनाको ठक्करका कारण पैदा हुने यथार्थ उनले औँल्याएकी छन्।

‘मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होइन, जीवनमा आधारभूत आवश्यकता पूरा हुनु नै मनको सबैभन्दा ठूलो सुरक्षा हो,’ दर्शनाले लेखेकी छन्।

१०० दिनमै आमूल परिवर्तन र लाखौँ रोजगारी एकैपटक सिर्जना गर्न नसकिने कुरालाई स्वीकार्दै उनले त्यसको जग निर्माणको अध्ययन र सुरुवात भने हुनुपर्ने र त्यो भइरहेको पनि दाबी गरेकी छन्। सबैलाई एकैपटक खुसी बनाउन नसकिए पनि समाजको पीँधमा रहेका श्रमजीवी र गरिबहरूको रोदन रोक्न सरकारले तत्काल ध्यान दिनुपर्नेमा उनको जोड छ।