गणेश नेपालीको मृत्युपछि वीर अस्पतालमा तनाव: सुरक्षा व्यवस्था कडा


काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएपछि अस्पताल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। गम्भीर जलनका कारण भेन्टिलेटरमा उपचार गराइरहेका नेपालीको शुक्रबार बिहान मृत्यु भएको हो।

मृत्युको खबर सार्वजनिक भएसँगै उनका आफन्त तथा समर्थकहरू ठुलो सङ्ख्यामा अस्पताल पुगेका छन्। आफन्तहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। सम्भावित आन्दोलन र अप्रिय अवस्थालाई रोक्न अस्पताल परिसरमा नेपाल प्रहरीको टोली व्यापक रूपमा परिचालन गरिएको छ।

“हामी शव बुझ्दैनौँ, सडक जाम गर्छौँ र आन्दोलनलाई अगाडि बढाउँछौँ,” अस्पताल पुगेका एक आफन्तले आक्रोश पोखे।

मृतकका आफन्त चन्द्रबहादुर शाहीका अनुसार मुगु सोरु गाउँपालिका–१ का नेपाली ३-४ वर्षअघि काठमाडौँ आएका थिए। उनले किस्तामा मोटरसाइकल खरिद गरी राइड सेयरिङ सेवामार्फत आफ्नो जीविकोपार्जन गर्दै आएका थिए।

बिहीबार निषेधित क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनलाई १० हजार रुपैयाँ जरिवानाको चिट काटेको आफन्तको भनाइ छ। जरिवानाको ठुलो रकम र नगर प्रहरीको व्यवहारका कारण मानसिक तनावमा परेर उनले राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएको आफन्तहरूले दाबी गरेका छन्।

आफन्तले यस घटनाका लागि महानगरको नगर प्रहरीलाई नै मुख्य जिम्मेवार ठहर गर्दै निष्पक्ष अनुसन्धान र दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन्। तनावपूर्ण स्थितिलाई नियन्त्रणमा राख्न प्रहरीले अस्पताल वरपरको क्षेत्रमा निगरानी बढाएको छ।