गणेश नेपाली आत्मदाह प्रकरणः सरकार जनविरोधी र निर्मम भएको एमालेको निष्कर्ष


काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले गरेको आत्मदाह र त्यसपछि भएको उनको निधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमाथि गम्भीर प्रश्न उठाएको छ । एमालेले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले पारदर्शिता, सुशासन र युवा रोजगारीको लोभलाग्दो नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार आफ्नै जनविरोधी र अमानवीय गतिविधिका कारण जनतासामु नाङ्गिँदै गएको आरोप लगाए ।

विज्ञप्तिमा भनिएको छ, “आधारभूत वर्गका नागरिकलाई संरक्षण दिनुपर्ने राज्य नै आज निमुखा जनताको गाँस र बास खोस्न उद्यत हुनु अत्यन्तै विडम्बनापूर्ण र निन्दनीय छ । मुगुका तन्नेरी गणेश नेपालीले आत्मदाहजस्तो कठोर र आत्मघाती कदम चाल्नु वर्तमान राज्य संयन्त्र र यसको सञ्चालकहरूबाट नागरिकले पाएको चरम निराशा, पीडा र प्रशासनिक आतङ्कको प्रत्यक्ष परिणाम हो ।”

एमालेले वर्तमान सरकार गरिब र सुकुमबासी नागरिकप्रति संवेदनहीन बनेको दाबी गरेको छ । सुकुमबासी बस्ती हटाउने नाममा यो कठोर वर्षायाममा नागरिकलाई कुनै विकल्प नदिई घरबारविहीन बनाइएको भन्दै एमालेले सरकारको कडा आलोचना गरेको छ ।

राज्यको यस्तो व्यवहार लोकतान्त्रिक शासन प्रणाली र लोककल्याणकारी राज्यको न्यूनतम अवधारणाविपरीत भएको विज्ञप्तिमा उल्लेख छ । महासचिव पोखरेलले नागरिकको ‘बाँच्न पाउने अधिकार’ र ‘सुरक्षित आवासको अधिकार’ को सम्मान गर्न सरकारलाई आग्रह गर्दै गरिब तथा निमुखा वर्गमाथिको दमन तत्काल रोक्न माग गरेका छन् ।

साथै, विस्थापित गरिएका नागरिकहरूको उचित व्यवस्थापन र सुरक्षित विकल्पको व्यवस्था तत्काल मिलाउन समेत एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । हिजो सडकमा हुँदा सुशासनका कुरा गर्नेहरू आज सत्ताको बागडोर सम्हाल्दा नागरिकको जीवन रक्षा गर्न असफल भएको एमालेको निष्कर्ष छ ।