काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यो दुःखद् घटनाले नेपालको आपत्कालीन स्वास्थ्य उद्धार प्रणालीको गम्भीर लापरबाही र कमजोरीलाई पुनः सतहमा ल्याएको छ ।
आखिर शरीरमा आगो सल्किएर छट्पटाइरहेका नेपालीलाई जलन उपचारको विशिष्टीकृत केन्द्र कीर्तिपुर अस्पताल नलगेर किन वीर अस्पताल पुर्याइयो भन्ने प्रश्न पेचिलो बनेको छ । त्रिपुरेश्वरबाट नजिकै रहेको र चौबीसै घण्टा दक्ष प्लास्टिक सर्जनसहितको अत्याधुनिक प्रविधि भएको कीर्तिपुर अस्पताल लैजान सकेको भए सुरुवाती ‘गोल्डेन आवर’मा उनको उपचार भई बाँच्ने सम्भावना रहन्थ्यो ।
तर, उद्धार टोली र सुरक्षाकर्मीमा कुन प्रकृतिको बिरामीलाई कुन अस्पताल लैजाने भन्ने न्यूनतम ‘प्रोटोकल’ र चेतना नहुँदा उनलाई आवश्यक पूर्वाधार नभएको वीर अस्पताल पुर्याइयो ।
अस्पतालहरूबीच आपत्कालीन समन्वय गराउने केन्द्रीय प्रणाली र उद्धार संयन्त्रको अक्षमताका कारण मुगुका नेपालीले समयमै सही उपचार नपाई अकालमै ज्यान गुमाउनुपरेको छ, जसको जवाफ अब राज्यले दिनुपर्ने देखिन्छ ।



प्रतिक्रिया