कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर बाढीले डुबायो, विस्थापित सुकुम्बासी फेरि विस्थापित


काठमाडौं, असार २७ । अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू पुनः विस्थापित हुन बाध्य भएका छन्।

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।

उनीहरूका अनुसार राति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्नसमेत पाएनन्। साथै, सुरक्षाकर्मी राति करिब २ बजेपछि मात्रै घटनास्थल पुगेको उनीहरूको गुनासो छ।

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्टसहित ३० जना र नेपाल प्रहरीका थप ३० जनाको संयुक्त टोली परिचालन गरिएको थियो।

उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन्।