काठमाडौं । स्वतन्त्र नागरिक अभियान, नेपालले मुगु जिल्लाका युवा गणेश नेपालीको काठमाडौंमा भएको आत्मदाहको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस घटनालाई राज्यको असफलता र नागरिक अधिकारप्रतिको उपेक्षाको परिणाम भएको आरोप लगाएको छ।
सनिवार अभियानका संयोजक ऋषि धमलाले एक प्रेस विज्ञप्ति जारी गर्दै युवाहरूलाई सुरक्षित जीवन, रोजगारी, मानसिक स्वास्थ्य सेवा तथा सामाजिक न्याय उपलब्ध गराउन राज्य असफल भएको बताएका छन् ।
विज्ञप्तिमा गणेश नेपालीको मृत्युलाई केवल व्यक्तिगत पीडाको घटना नभई समाज र राज्यको जिम्मेवारीसँग जोडिएको गम्भीर विषयका रूपमा उल्लेख गरिएको छ।
घटनापछि अभियानले सरकारसमक्ष सात बुँदे माग अघि सारेको छ । जसमा ट्राफिक कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक सुधार, दक्षता र जिम्मेवारीमा आधारित व्यावसायिक ड्राइभिङ लाइसेन्स प्रणाली, युवाका लागि निःशुल्क पेशागत तथा मानसिक परामर्श सेवा, सुधारात्मक दृष्टिकोणसहितको कर तथा जरिवाना व्यवस्था, व्यवस्थित पार्किङ सुविधा, नागरिकलाई कानुनबारे अभिमुखीकरण गर्दै दोषीलाई कडा कारबाही तथा नागरिकको हक र दायित्वको स्पष्ट कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।
अभियानले यी मागहरू तत्काल सम्बोधन नगरिए नागरिक आन्दोलनमार्फत कडा प्रतिरोधमा उत्रिने चेतावनीसमेत दिएको छ।
यस्तो छ अभियानको ७ बुँदे सरकारसँग राखेको माग :
ट्राफिक कानून: विद्यमान नियमहरूको कठोर कार्यान्वयन र सुधार।
व्यावसायिक ड्राईभिङ लाइसेन्स: दक्षता र जिम्मेवारीसहितको लाइसेन्स प्रणाली।
पेशागत र मानसिक काउन्सिलिङ: युवाहरूलाई जीवन र करियरमा सन्तुलन कायम गर्न निःशुल्क सुविधा।
व्यावहारिक कर/जरिवाना प्रणाली: दण्डात्मक मात्र नभई सुधारात्मक दृष्टिकोणसहितको कर तथा जरिवाना व्यवस्था।
उचित पार्किङ व्यवस्थापन: शहरमा व्यवस्थित पार्किङ सुविधा र नियम।
कानूनको अभिमुखिकरण र सजायँ: नागरिकलाई कानून बुझाउने र दोषीलाई कठोर सजायँ दिने व्यवस्था
नागरिक हक र दायित्व: अधिकारसँगै दायित्वको स्पष्ट परिभाषा र कार्यान्वयन।



प्रतिक्रिया