जेनजी अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियाे


काठमाडाैँ । प्रहरीको कुटपिटमा परेर घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

प्रहरीको कुटपिटका क्रममा माजिदको टाउको र अनुहारमा बुटले प्रहार गरिएका कारण उनको अनुहार तथा शरीरको माथिल्लो भागमा गम्भीर चोट पुगेको बताइएको छ ।

यसअघि माजिदलाई कीर्तिपुर अस्पताल लगिएको थियो । कीर्तिपुर अस्पतालमा भिडियो एक्स रे र अन्य स्वास्थ्य परिक्षण गरेपछि उनलाई थप उपचारका लागि शिक्षण अस्पताल लागिएको जेनजी अभियन्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत् बताएकी छिन् ।

आज दिउँसो कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर सुकुम्वासीहरुको अवस्था बुझ्न पुगेका जेनजी अभियान्ताहरु माजिद अन्सारी, मोनिका निरौला, रीया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कूटपिट तथा धरपकड गरेको थियो ।