काठमाडौँ । राहदानी विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो ‘डेटा माइग्रेसन’ सफलतापूर्वक सम्पन्न गर्दै यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।
विभागका अनुसार करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी संवेदनशील विवरणलाई सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ । यो प्रविधिको क्षेत्रमा एउटा ठूलो र ऐतिहासिक उपलब्धि मानिएको छ ।
यति बृहत् सूचना प्रविधि प्रणाली कार्यान्वयनमा ल्याउँदा सुरुवाती दिनहरूमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता वा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने विभागले जनाएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै विभागले पूर्वतयारी समेत गरेको छ । सम्भावित प्राविधिक समस्याको तत्काल समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी र प्रणाली विकास गर्ने कम्पनीका विज्ञहरू चौबीसै घण्टा तयारी अवस्थामा खटिएका छन् । उनीहरूले प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधार गरिरहेका छन् ।
देखापर्न सक्ने तत्कालीन वा दीर्घकालीन समस्याहरू समाधान गर्न विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको भन्दै सेवाग्राहीलाई ढुक्क हुन आग्रह गरिएको छ ।
नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउने चरणमा रहेकाले विभागले हालका लागि अत्यावश्यक काम परेका सेवाग्राहीलाई मात्र आवेदन दिन अनुरोध गरेको छ । सुरुवाती चरणमा नागरिकबाट मिल्ने सहयोगले प्रणालीलाई छिटो चुस्त बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विभागको विश्वास छ ।



प्रतिक्रिया