गणेशका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने


काठमाडौँ । गणेश नेपालीको परिवारले घटनाबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका छन् । अनुसन्धानका लागि गणेशका दाजु मदनले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

आइतबार पीडित परिवार र सरकारको बिचमा शव बुझ्ने र शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा सहयोग र सहजीकरण गर्ने सहमति भएको थियो । पीडित परिवारसँग सरकारको ९ बुँदे सहमति भएको थियो ।

जाहेरी दर्ता गरेसँगै प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताललाई पत्राचार गरेको छ । गणेशको शव शिक्षण अस्पतालमा राखिएको छ ।

असार २५ मा त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ घर भएका गणेशका असार २६ मा वीर अस्पतालमा मृत्यु भएको थियो । महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि उनले आत्मदाह गरेका हुन् ।