काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरी ज्यान गुमाएका मुगुको सोरू गाउँपालिका–१ का गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिएको छ ।
सोमबार मृतक गणेशका दाजु मदन नेपालीले ज्यानसम्बन्धी कसूरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका हुन् । प्रहरीले उक्त उजुरी दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइसकेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले उजुरी दर्ता भएको पुष्टि गरे ।
गत असार २५ गते राहदानी विभाग अगाडि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गणेशले पार्किङ गरी राखेको मोटरसाइकलमा ‘ह्विल लक’ लगाएको थियो । त्यसलगत्तै आक्रोश र तनावमा आएका उनले सडकमै आफैँलाई आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा गत शुक्रबार मृत्यु भएको थियो ।
मृतकको परिवार र सरकारबीच आइतबार मात्रै विभिन्न ९ बुँदे सहमति भएपछि परिवारले शव बुझ्न र जाहेरी प्रक्रिया अघि बढाउन सहमति जनाएको थियो ।



प्रतिक्रिया