नेप्सेमा ३० अङ्कको गिरावट, साढे ७ अर्बको कारोबार


काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा ३० अङ्कभन्दा बढीको गिरावट आएको छ । केही दिनयता निरन्तर ओरालो लागिरहेको नेप्से सूचक आज ३०.६० अङ्कले घट्दै २ हजार ५७०.१८ अङ्कमा झरेको हो ।

परिसूचकमा गिरावट आए तापनि आज कारोबार रकम भने झन्डै साढे ७ अर्ब रुपैयाँबराबरको भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँबराबरको ४ करोड १७ लाख २५ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

खासगरी आर्थिक वर्षको अन्तिम समयमा लगानीकर्ताहरू खाता बन्द (क्लोजिङ) गर्नतर्फ लाग्दा यसको असर सेयर बजारमा परेको विश्लेषकहरू बताउँछन् । हिसाब मिलानका लागि बढीभन्दा बढी लगानीकर्ता सेयर बिक्रीमा लाग्दा कारोबार रकम उच्च हुन पुगेको हो ।

आज सबैभन्दा बढी एनएमबी डिबेन्चरको ४८ करोड ४६ लाख ५४ हजार रुपैयाँबराबरको इकाइ बजारमा किनबेच भएको छ । त्यसैगरी, एनआईसी डिबेन्चरको ४६ करोड ६५ लाख ८४ हजार रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार कारोबार भएका १३ वटै उपसूचक ऋणात्मक हुँदा समग्र बजार नै राताम्मे हुन पुगेको छ । बजारमा कुल २४९ कम्पनीको सेयर मूल्य घट्दा आज जम्मा २२ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ ।