सभामुखको भूमिका निष्पक्ष हुन सकेनः आङ्देम्बे


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाउँदै विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

सोमबार सिंहदरबारमा पत्रकारसँग कुराकानी गर्दै नेता आङ्देम्बेले सभामुख कुनै पनि दलको सदस्य नभएको स्मरण गराउँदै संसद्‍भित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए । संसद्‍मा कुनै विषयलाई लिएर विपक्षी दलहरूले विरोध जनाउँदा सबैका तर्फबाट एक जनाले मात्र विचार राख्नुपर्ने सभामुखको मनसायप्रति उनले असन्तुष्टि जनाए । संसद्‍मा सबै दलका प्रतिनिधिले आफ्नो धारणा राख्न पाउनुपर्ने उनको माग थियो ।

सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीका रूपमा नलिन उनले सचेत गराए ।

‘संसद्‍मा विरोध जनाएपछि विपक्षी दलहरू सबैले बोल्न पाउनुपर्‍यो, संसद्भित्र नाडी छाम्ने काम गर्नुहुँदैन,’ आङ्देम्बेले भने, ‘सदन सञ्चालन गर्ने सभामुखज्यूले आफ्नो भूमिका बुझ्नुपर्छ । उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न, यो कुरा बुझेर अगाडि बढ्नुभयो भने सजिलो हुन्छ ।’

उनले प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालन गर्न देखाएको सहृदयता देशलाई केन्द्रमा राखेर गरिएको भन्दै यसलाई मित्रवत् रूपमा लिनुपर्ने बताए । सत्तापक्षले विपक्षी दलहरूसँग आवश्यक समन्वय नगर्दा नै सदनमा समस्या सिर्जना भइरहेको उनको बुझाइ छ ।