मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिनको माग


काठमाडौँ । विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर आपत्ति जनाएको छ। मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्ने नियतले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उल्लङ्घन भएको रास्वपाको ठहर छ।

रास्वपा महामन्त्री विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र प्रेस स्वतन्त्रता संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू किमार्थ स्वीकार्य नहुने स्पष्ट पारेका छन्। “एक लोकतान्त्रिक र विधिको शासनमा विश्वास गर्ने दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिन्छ,” विज्ञप्तिमा भनिएको छ।

रास्वपाले यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चार-माध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकार, गृहमन्त्रालय र सुरक्षा निकायसँग माग गरेको छ। साथै, यस्ता शङ्कास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन आग्रह गर्दै रास्वपाले सञ्चारजगत्‌लाई कुनै पनि दबाब र त्रासमा नपरी व्यावसायिक धर्म निर्वाह गरिरहन अपिलसमेत गरेको छ।