मिडिया कार्यालयका गेटअगाडि गाडी तेर्स्याइनु राजनीतिकरण : ज्ञानेन्द्र शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्रीलाई कर्णालीको भीरमा अड्किएकालाई उद्धार गर भन्नू राजनीतिकरण नभएको बताएका छन् ।

उनले संसद् भवनमा आगो लगाएर चुनाव लड्नुचाहिँ राजनीतिकरण भएको आरोप लगाए ।
‘संसद् भवन चाहिँदैन भनेर आगो लगाउने तर पछि त्यही संसद्को चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अघि र पछि ट्याइँट्याइँ र टुइँटुइँ गाडी, सुरक्षाकर्मी राख्न हुँदैन भन्ने तर आफू सत्तामा पुगेपछि सुरक्षाकर्मी, लावालस्कर लिएर हिँड्नेलाई राजनीतिकरण भनिन्छ,’ उनले भने ।

त्यस्तै, उनले मिडिया कार्यालयका गेटअगाडि गाडी तेर्स्याइनु राजनीतिकरण भएको बताए । भीरमा अड्किएका घाइतेको उद्धार गर्न हेलिकोप्टर नपठाउने, फोन नउठाउने र संसद्मा आएर रोएको नाटक गर्नु राजनीतिकरण भएको उनको भनाइ छ ।