सर्वोच्च फूलकोर्ट बैठक : न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण


१६ कात्तिक, काठमाडौं । आज बसेको सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता रहेको र त्यसमा अडिग रहेको बताएको छ ।

‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो । यसमा हामी अडिग र स्पष्ट छौं । संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं,’ सर्वोच्चका प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निप्पक्ष एवम स्वतन्त्र ढंगवाट संविधान र कानून बमोजिम छानबीन गरी सत्य, तथ्य सहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि बैठकले सम्बद्ध निकायलाई आग्रह गरेको छ ।