काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८’ को संज्ञा दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक राईले सरकारले नै बालेन शाहलाई प्रश्नभन्दा माथि राख्न खोजेको गम्भीर आरोप लगाए । नागरिकका संवैधानिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्दै सरकारले एउटा व्यक्तिलाई सर्वेसर्वा बनाउने प्रपञ्च रचिरहेको उनको दाबी थियो ।
‘सरकारले श्री ८ बालेन्द्रलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजेको छ,’ संसद्मा आक्रोशित मुद्रामा प्रस्तुत भएका राईले भने, ‘देशमा रहेको संविधान र कानुनी परिधिभित्र रहेर उठ्ने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भन्ने चेतावनी नागरिकलाई यो सरकारले दिइरहेको छ ।’
राईले सरकारको कार्यशैली अधिनायकवादी शासनतर्फ उन्मुख भएको संकेत गर्दै नागरिकको मुख थुन्ने प्रयास भइरहेको बताए । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको उनको आरोप छ ।
वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हिँड्न खोजेको र नागरिक अधिकारमाथि प्रहार गर्न उद्धत रहेको राईको आरोप छ ।



प्रतिक्रिया