काठमाडौँ । संसद्मा यतिबेला राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र नियमापत्तिको शृङ्खला निकै रोचक मोडमा पुगेको छ । पछिल्लो समय सडकमा देखिएका केही शंकास्पद गाडी र तिनले मिडिया एवं सार्वजनिक स्थलमा सिर्जना गरेको अवरोधको विषयलाई लिएर प्रतिनिधिसभामा प्रमुख सत्तारुढ र प्रतिपक्षी दलका सांसदबीच तीखो घोचपेच चलेको छ ।
प्रतिनिधिसभाको बैठकमा यो मुद्दा नेकपा एमालेका सांसद गणेश ठगुन्नाले प्रखर रूपमा उठाएका थिए । सडकमा देखिएका ती गतिविधि हेर्दा सामान्य लागे पनि यसले विगतको पञ्चायतकालीन मण्डलेतन्त्र र तत्कालीन राज्यआतंकको झ–झल्को दिएको टिप्पणी सांसद ठगुन्नाले गरे । उनको यो संकेत सिधै राज्य संयन्त्रतर्फ लक्षित थियो, जसले सदनको वातावरण एकाएक तताइदियो ।
ठगुन्नाको आक्रामक टिप्पणीलगत्तै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौला (ज्वाला)ले तत्कालै नियमापत्ति जनाउँदै प्रतिवाद गरिन् । उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) लाई आकर्षित गर्दै बिनाप्रमाण सिंगो राज्यसंयन्त्रमाथि नै हिलो छ्याप्ने काम भएको भन्दै आपत्ति प्रकट गरेकी हुन् ।
‘एउटा व्यक्ति वा समूहले गरेको गलत क्रियाकलापलाई लिएर सिंगो राज्यले नै परिचालन गरेको भन्नु घोर आपत्तिजनक छ,’ सांसद संग्रौलाले भनिन्, ‘यदि राज्यले नै ती संदिग्ध गाडी परिचालन गरेको हो भने प्रमाण दिनुपर्यो । होइन भने भ्रमको पर्दा च्यातेर बाहिर निस्कन म आग्रह गर्दछु ।’
संसद्मा भएको यो जुहारीले एकातिर नागरिकको स्वतन्त्रता र सुरक्षामाथिको आशंकालाई सतहमा ल्याएको छ भने अर्कोतिर राजनीतिक दलहरूबीचको आन्तरिक द्वन्द्व र अविश्वासलाई पुनः छताछुल्ल पारेको छ ।



प्रतिक्रिया