ललितपुर । सडक सुरक्षा र व्यवस्थित ट्राफिक व्यवस्थापनमा निरन्तर नयाँ प्रयोग गरिरहेको ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा जडान गरिएको यो अत्याधुनिक प्रविधिले ट्राफिक नियमको पालना गराउन र सडक दुर्घटना न्यूनीकरण गर्न ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार यो प्रणाली सिधै चोकको ट्राफिक बत्तीसँग जोडिएको छ। जेब्रा क्रसिङमा पैदलयात्रीका लागि हरियो बत्ती बल्दा ब्यारेड स्वतः खुल्नेछ भने रातो बत्ती बल्दा स्वतः बन्द हुनेछ। यसले रातो बत्ती बलेका बेला जथाभाबी बाटो काट्ने प्रवृत्तिलाई पूर्ण रूपमा नियन्त्रण गर्ने र पैदलयात्रीलाई नियम पालना गर्न उत्प्रेरित गर्नेछ।
यो प्रणाली सुरक्षित र संवेदनशील पनि छ। ब्यारेडमा जडान गरिएको विशेष सेन्सरका कारण बाटो काट्दै गरेका पैदलयात्री बीचमै रहेका बेला ब्यारेड बन्द हुने छैन। यसले बाटो पार गरिरहेका व्यक्तिलाई सुरक्षित रूपमा वारपार गर्न सहज बनाउनेछ। सँगै, जथाभाबी बाटो काट्ने प्रवृत्ति रोक्न जेब्रा क्रसिङबाहेकका सडक किनारामा गमलाहरू राखेर बार लगाउने तयारी समेत महानगरले गरेको छ।
महानगर प्रमुख चिरिबाबु महर्जनले विगतमा ट्राफिक नियमको बेवास्ता र जेब्रा क्रसिङको सही प्रयोग नहुँदा पैदलयात्रीको ज्यान जोखिममा पर्ने गरेको उल्लेख गर्दै नयाँ प्रविधिले सडकलाई सुरक्षित र व्यवस्थित बनाउने बताए।
हाल जावलाखेलका दुई व्यस्त स्थानमा यसलाई परीक्षणका रूपमा सुरु गरिएको छ। यो प्रयोग सफल भएमा ललितपुर महानगरभित्र ट्राफिक लाइट भएका सबै मुख्य चोकहरूमा यो स्मार्ट ब्यारेड विस्तार गर्ने योजना महानगरको छ।



प्रतिक्रिया