६ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा भाग लिन नपाउने


काठमाडौँ । जिम्मा लिएको विकास निर्माणको काम समयमै पूरा नगरेपछि सरकारले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै विभिन्न सरकारी निकायको सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालो सूचीमा राखिएको जनाएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो कारबाही गरिएको कार्यालयले प्रस्ट्याएको छ ।

कारबाहीमा पर्नेहरूमा सरोज कन्स्ट्रक्सन (सुनसरी), आरोग्य कन्स्ट्रक्सन प्रालि (ललितपुर), शान्ति निर्माण सेवा प्रालि (ललितपुर), क्रेटर कन्स्ट्रक्सन प्रालि (भक्तपुर), कृष्टल एण्ड श्रवण निर्माण सेवा (काठमाडौँ) र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि (हेटौँडा) रहेका छन् ।

यी कम्पनीहरूलाई कसुरको गम्भीरता हेरेर एक वर्षदेखि तीन वर्षसम्मका लागि कालो सूचीमा राखिएको हो । कालो सूचीमा परेका निर्माण व्यवसायी तथा कम्पनीहरूले कारबाहीको उक्त अवधिभर राज्यको कुनै पनि सार्वजनिक खरिद तथा ठेक्कापट्टाको कारबाहीमा भाग लिन पाउने छैनन् ।