शेयर बजारमा निरन्तर गिरावट : लगानीकर्ताले घेरे धितोपत्र बोर्ड


काठमाडौँ । नयाँ सरकार गठनपछि पनि शेयर बजारमा लगातार गिरावट आएको भन्दै आक्रोशित लगानीकर्ताहरू नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय पुगेका छन् । सरकार र नियामक निकायका नीतिका कारण आफ्नो लगानी जोखिममा परेको भन्दै उनीहरूले मंगलबार बोर्ड कार्यालय घेराउ गरेका हुन् ।

शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा गएको टोलीले बजारलाई व्यवस्थित बनाउन र थप ओरालो लाग्नबाट रोक्न तत्काल नीतिगत हस्तक्षेप गर्न माग गरेको छ । डा. गोपाल भट्टले बोर्डको अध्यक्षका रूपमा कार्यभार सम्हालेपछि अहिले बोर्डले ‘पुँजीबजार विकास मार्गचित्र’ सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ । लगानीकर्ताहरूले सोही योजनामा बजार सुधारका ठोस कार्यक्रमहरू समेट्नुपर्ने दबाब दिएका छन् ।

नयाँ सरकार गठनसँगै बजार बढ्ने अपेक्षा गरिए पनि सूचक लगातार घटिरहेको प्रति लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् । २ हजार ८ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक घटेर २ हजार ५ सयको हाराहारीमा झरेपछि आम लगानीकर्ता ठूलो घाटामा परेका छन् ।

नयाँ अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्ले आएपछि बजारले गति लिन नसकेको र संसद्‌मा बजेटमाथिको छलफलका क्रममा उनले दिएको अभिव्यक्तिप्रति लगानीकर्ताहरू रुष्ट छन् । सांसदहरूले बजार घटेकोबारे सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ‘सरकारले दैनिक रूपमा बजारको सूचक हेरेर बस्न नसक्ने’ बताएका थिए । अर्थमन्त्रीको सोही भनाइ र कार्यशैलीका कारण बजार थप शिथिल बनेको लगानीकर्ताको आरोप छ ।

नियामक निकायले बजारलाई व्यवस्थित बनाउन आवश्यक नीति, नियम र पूर्वाधार निर्माणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण गराउन आफूहरू बाध्य भएको प्रदर्शनमा उत्रिएका लगानीकर्ताहरूले बताएका छन् ।