काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा संसदीय गरिमा र स्थापित मूल्य–मान्यतामाथि नै प्रश्न उठाउने एउटा लज्जास्पद दृश्य देखियो । राप्रपाकी सांसद खुश्बु ओली संसद्को रोस्ट्रममा उभिएर आफ्ना भनाइहरू राखिरहेकी थिइन् । ठीक त्यही बेला प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बैठक कक्षमा सँगै प्रवेश गरे ।
तर, बैठक कक्षमा छिरेपछि उनीहरूले संसदीय अभ्यासको न्यूनतम मर्यादासमेत बिर्सिए ।
संसदीय व्यवस्थामा सभामुख र बोलिरहेका सांसदको बीचबाट हिँड्न नपाइने स्पष्ट नियम छ । प्रतिनिधिसभा नियमावलीले बैठक चलिरहँदा पालना गर्नुपर्ने अनुशासनका सीमाहरू तय गरेको छ । विधिको शासन र नयाँ राजनीतिको पैरवी गर्ने दाबी गर्ने प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेले तिनै नियमहरूलाई लत्याउँदै बोलिरहेकी सांसद र सभामुखको बीचबाट सरासर अगाडि बढे ।
नेताद्वयले नियमावलीको धज्जी उडाएपछि संसद् बैठकमा तत्कालै यसको प्रतिवाद भयो ।

एमालेका प्रमुख सचेतक ऐन महरले यस विषयमा नियमापत्ति जनाउँदै संसद्को ध्यान ध्यानाकर्षण गराए । प्रमुख सचेतक महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) स्मरण गराउँदै सभामुखको आसन तथा सांसदहरू बोलिरहेको बेलामा बीचबाट हिँड्न नहुने व्यवस्थाको बर्खिलाप भएको भन्दै आपत्ति प्रकट गरे ।
नियम बनाउने र मुलुकलाई विधिको बाटोमा हिँडाउने जिम्मेवारी बोकेका संसद्का शीर्ष व्यक्तित्वहरूबाटै यसरी पालैपालो नियम उल्लंघन हुनुले संसदीय अनुशासन र संसद्प्रतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।



प्रतिक्रिया