अर्थ मन्त्रालयमा करारका कर्मचारीहरुको प्रदर्शन, प्रधानमन्त्री कार्यालयमा सरकारसँग छलफल हुँदै


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षबाट करारका कर्मचारी हटाउने तयारी गरेपछि अर्थ मन्त्रालयमा करार कर्मचारीहरूले प्रदर्शन गरेका छन्।

मंगलबार उनीहरूले मन्त्रालयको गेटमा प्रदर्शन गरेका हुन्।

उनीहरुले गेटमा प्रदर्शन गरेपछि अर्थ मन्त्रालयले समन्वय गरेको छ । केही विषयमा अर्थ मन्त्रालय र करारका कर्मचारीबीच सहमति भएको वार्तामा बसेका करार कर्मचारीका प्रतिनिधि चीरञ्जीवी नेपालले जानकारी दिए ।

उनका अनुसार रोजगारीको ग्यारेन्टी गर्ने, ठेक्कामा नलाने भन्ने विषयमा अर्थमन्त्रालयसँग सहमति भएको हो । ‘देशलाई योगदान दिएका र्कचारीहरु साउन १ देखि दरबन्दी कटौती भएर घर जानुपर्ने भए सरकारले उपदान दिएर घर पठाउपर्छ , यत्रो समय दु:ख गरेका कर्मचारीहरुलाई रित्तो हात पठाउनु हुँदैन भन्ने हाम्रो माग हो,’ उनले भने ।

साथै आजै ५ बजे यी लगाायत अन्य थप विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल हुने नेपालले बताए । प्रधानमन्त्री कार्यालयका सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिवलगाायतका सरकारका प्रतिनिधिहरुसँग छलफल हुने उनको भनाइ छ ।