काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघन गरे ५० हजार रुपैयाँ जरिवाना लाग्नेबारे आएको समाचारको खण्डन गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ५० हजार रुपैयाँ जरिवाना लाग्ने भन्ने कुरा भ्रम रहेको बताए ।
उनले भने, ‘सामान्य अवस्थामा नियम उल्लंघन गर्दा ५०० रुपैयाँ जरिवाना लाग्ने हो । तर, कसैले पटक–पटक सोही गल्ती दोहोर्याइरहन्छ भने मात्र जरिवाना रकम बढ्दै गएर अधिकतम ५० हजार रुपैयाँसम्म पुग्न सक्छ। यसलाई एकैपटक ५० हजार जरिवाना तोकिएको जसरी भ्रम फैलाइयो ।’
यसैगरी, १० हजार जरिवाना तिर्न नसकेर गणेश नेपालीले आत्मदाह गरेको भनी चलाइएको हल्ला सत्य नभएको र उनलाई त्यस्तो कुनै जरिवाना नलगाइएको उनले बताए । ‘आर्थिक अवस्था कमजोर हुनु, समयमै न्याय नपाउनु र सामाजिक विकृतिहरूका कारण यस्ता अप्रिय घटनाहरू घट्ने गर्छन्, तर यसलाई जरिवानासँग जोडेर भ्रम फैलाउने काम भयो,’ उनले भने ।



प्रतिक्रिया