चार महिना बितिसक्दा पनि सरकारले चासो नदिएको भन्दै ग्यास संघका अध्यक्षले गरे गुनासो..


काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सरकारले ल्याएको आधा सिलिण्डर (७.१ केजी) को नीति र त्यससँग सम्बन्धित खर्च व्यवस्थापनमा चासो नदेखाउँदा ग्यास उद्योगीहरू मर्कामा परेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बुधबार बोल्दै चन्दले यस्तो गुनासो गरेका हुन् ।

गत फागुन २८ गते बजारमा ग्यासको अभाव भएपछि उपभोक्तालाई राहत दिन र होल्डिङ रोक्न मन्त्रालय र नेपाल आयल निगमको सहमतिमा ७.१ केजीको सिलिण्डर बजारमा पठाइएको चन्दले बताए । तत्कालीन समयमा १५ दिनका लागि मात्र यो व्यवस्था गर्ने र त्यसपछि लागत अध्ययन गरेर खर्च समायोजन गर्ने लिखित सहमति भएको थियो । तर चार महिना बितिसक्दा समेत सरकारले यसतर्फ कुनै पहल नगरेको उनको भनाइ छ ।

‘आधा सिलिण्डर ग्यास भर्दा र ढुवानी गर्दा हाम्रो सञ्चालन खर्च, ह्यान्डलिङ चार्ज र ढुवानी खर्च दोब्बर भएको छ । सहमति अनुसार खर्चको अध्ययन गरी १६ औँ दिनदेखि लागू गर्ने भनिएको थियो, तर चार महिना बितिसक्दा पनि हाम्रो अनुरोध कसैले सुनेको छैन,’ उनले भने ।