इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी


वासिङ्टन डिसी । अमेरिकाले बुधबार इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई चेतावनी दिँदै उसले ‘राम्रो आचरण देखाउनु पर्ने’ बताएका छन्।

अमेरिकी सेनाका अनुसार स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्ने जहाजहरूलाई खतरा पुर्‍याउन सक्ने इरानी सैन्य क्षमतालाई लक्षित गरी यो आक्रमण गरिएको हो। यसका साथै इरानी बन्दरगाहमा लगाइएको नयाँ नाकाबन्दी उल्लङ्घन गर्न खोज्ने एउटा जहाजमाथि पनि अमेरिकाले गोली प्रहार गरेको छ।

दुई देशबिच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सम्झौता विपरीत पाँचौँ दिन पनि भिडन्त जारी रहँदा इरानले बहराइन र कुवेत सहितका क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको दाबी गरेको छ। इरानका मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले यदि सम्झौताबाट फाइदा हुँदैन भने तेहरानसँग त्यसलाई पालना गरिरहने ‘कुनै कारण’ नभएको सरकारी सञ्चारमाध्यमलाई बताएका छन्।

यसअघि ट्रम्पले इरान अर्को हप्ता वार्तामा नआए त्यहाँका पुल र विद्युत गृहहरूमा आक्रमण गर्ने धम्की दिएका थिए। बुधबार पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, ‘मलाई समयसीमा तोक्न मन पर्दैन।’

उनले थपे, ‘तर उनीहरूलाई कथा राम्ररी थाहा छ, उनीहरूले राम्रो आचरण देखाउनु पर्छ।’ ट्रम्पले पछि एउटा रक्षा सम्मेलनमा इरान अहिले खुसी नरहेको र उनीहरू सम्झौता गर्न निकै उत्सुक भएको दाबी गरे। उनले भने, ‘हामी उनीहरूसँग सम्झौता गर्ने कि यसलाई सिध्याइदिने भन्ने निर्णय गर्नेछौँ।’

अर्कातर्फ इरानी वार्ताकार गालिबाफले इरानको राष्ट्रिय सुरक्षा स्ट्रेट अफ होर्मुजमा ‘इरानी व्यवस्था’ कायम राख्ने कुरामा निर्भर रहेको बताएका छन्। उनले अमेरिकासँगको यो लडाइँ अस्तित्वको लडाइँ भएको र युद्धसँगै वार्ता पनि इरानको प्रतिरोध रणनीतिको हिस्सा भएको बताएका छन्।

यसअघि अप्रिल महिनामा ट्रम्पले इरानको नागरिक पूर्वाधारमा बमबारी गर्ने धम्की दिँदा संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले त्यसको निन्दा गर्दै त्यो युद्ध अपराध हुने बताएका थिए। जारी लडाइँका बिच ट्रम्पले डिसेम्बर २०२४ मा इरानमा गलत तरिकाले बन्दी बनाइएकी एक अमेरिकी महिलालाई इरानले मुक्त गरेकोमा सन्तोष व्यक्त गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘उनी अहिले इरान बाहिर सुरक्षित र राम्रो अवस्थामा छिन्। संयुक्त राज्य अमेरिका इरानको यो सद्भावको कदर गर्दछ।’ ती महिला डेना करारी भएको र उनी अमेरिका फर्कने क्रममा रहेको उनका वकिल जारेड गेन्सरले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।

अमेरिकी सैन्य कमान्ड सेन्टकमका अनुसार बुधबार दिउँसो दुई चरणमा हवाई आक्रमणहरू गरिएका थिए, जसले इरानको व्यापारिक जहाजमाथि आक्रमण गर्ने क्षमतालाई कमजोर बनाइदिएको छ। पहिलो ९० मिनेटको आक्रमणमा ग्रेटर टुनब टापुमा रहेका इरानका तटीय रक्षा प्रणाली र क्रुज मिसाइल भण्डारण तथा प्रक्षेपण स्थलहरूलाई निसाना बनाइएको थियो।

बुधबार राति अमेरिकी सैन्य कमान्ड सेन्टकमले दोस्रो चरणको आक्रमण पनि सम्पन्न भएको जनाएको छ। उक्त आक्रमणमा बन्दर अब्बास सहरमा रहेका इरानका कमान्ड सेन्टर, हवाई रक्षा प्रणाली, मिसाइल र ड्रोन क्षमता तथा तटीय निगरानी केन्द्रहरूमा क्षति पुर्‍याइएको छ।

मंगलबार साँझदेखि बन्दरगाहमा नाकाबन्दी लागू भएयता अमेरिकाले दुईवटा व्यापारिक जहाजको मार्ग परिवर्तन गरिदिएको छ। गत महिना दुई देशबिच महिनौँ लामो द्वन्द्व अन्त्य गर्न भएको समझदारी पत्रको सम्झौतापछि यो नाकाबन्दी हटाइएको थियो।

यद्यपि स्ट्रेट अफ होर्मुजको विवाद अहिले मुख्य विवादको विषय बनेको छ। अमेरिकी नाकाबन्दीको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगीहरूको हितमा रहेका अन्य तेल र ग्यास निर्यात मार्गहरू बन्द हुन सक्ने चेतावनी दिएको छ।

बीबीसी