चितवनमा साढे ८५ हजार बोराभन्दा बढी रासायनिक मल बिक्री


चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय नारायणगढले चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८५ हजार बोराभन्दा बढी रासायनिक मल बिक्री गरेको छ ।

कार्यालयका अनुसार हालसम्म ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र ४ हजार ९४३ बोरा पोटास मल बिक्री भइसकेको छ । अहिले पनि गोदामबाट ९ हजार २०० बोरा युरिया र १ हजार बोरा डीएपी बिक्री भइरहेको कार्यालयले जनाएको छ ।

थप बिक्रीका लागि साल्ट ट्रेडिङसँग ७ हजार ८०२ बोरा युरिया, २ हजार ८६६ बोरा डीएपी र १२ हजार ४२५ बोरा पोटास मौज्दात छ । हाल बजारमा प्रति ५० केजी युरियाको मूल्य ८४७ रुपैयाँ, डीएपीको २ हजार २९७ रुपैयाँ र पोटासको १ हजार ६९७ रुपैयाँ कायम छ ।

जिल्लाका सूचीकृत बिक्रेतामार्फत सरकारले तोकेको अनुदानित मूल्यमै मल वितरण भइरहेको शाखा प्रमुख बुद्धि विनोद दाहालले जानकारी दिए । ‘जुनसुकै कठिन परिस्थितिमा पनि खेतीको मुख्य याममा किसानलाई मल अभाव हुन नदिन समयमै आपूर्ति गरेर स्थानीय तहको सिफारिसमा बाँडिरहेका छौँ,’ दाहालले भने ।

कुन किसानले कति मल खरिद गरे भन्ने विवरण पारदर्शी बनाउन जिल्लाका सबै बिक्रेतालाई ‘किसान व्यवस्थापन प्रणाली’ (फार्मर म्यानेजमेन्ट सिस्टम) सफ्टवेयरमा अनिवार्य आबद्ध गराउने तयारी छ । यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्व र कृषि ज्ञान केन्द्रको समन्वयमा बिक्रेताहरूलाई प्राविधिक तालिमसमेत दिइसकिएको छ ।

साल्ट ट्रेडिङले देशभरको कुल मागको करिब ३० प्रतिशत रासायनिक मल आपूर्ति गर्ने जिम्मेवारी पाएको छ । यो वर्ष रोपाइँको सुरुमा डीएपी मलको माग बढेकाले आपूर्तिमा केही चाप परे पनि अहिले अवस्था सहज रहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा चितवनमा ४२ हजार २०१ बोरा युरिया, २१ हजार ५८४ बोरा डीएपी र १ हजार ८४२ बोरा पोटास बिक्री भएको थियो ।