काठमाडौं । वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले मधुमेहका कारण तीन वर्षदेखि मृगौला फेल भएर उपचार नपाई माइतीघर मण्डलामा धर्नारत सिन्धुपाल्चोक मेलम्चीका ३७ वर्षीय दृष्टिविहीन रामशरण राउतको उद्धार गरेका छन् । सरकार र सरोकारवाला निकायले लामो समयसम्म आफ्ना पीडा र विलौना नसुनेपछि निराश बनेका राउतलाई धमलाकै सक्रियतामा वीर अस्पताल भर्ना गरी निःशुल्क उपचार सुरु गरिएको छ ।
लामो समयदेखि उपचार खर्च र न्यायको खोजीमा माइतीघरको सडकमा धर्नारत पीडित राउतलाई भेट्न धमला आफैँ मण्डला पुगेका थिए । मण्डलामा राउतको कारुणिक अवस्था देखेपछि धमलाले तत्कालै जनताको पक्षमा कठोर एक्सन लिए । उनले सोही स्थानबाटै स्वास्थ्यसचिव विकास देवकोटालाई सिधै फोन गरेर बिरामीको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरे ।
धमलाको चौतर्फी दबाब र प्रभावकारी पहल कदमीपछि स्वास्थ्य मन्त्रालय तत्कालै एक्सनमा उत्रिएको हो । स्वास्थ्यसचिव देवकोटाको विशेष निर्देशनपछि वीर अस्पतालले राउतको सम्पूर्ण उपचार निःशुल्क गर्ने गरी अस्पताल भर्ना गरेको छ ।
यसअघि राज्यका विभिन्न निकायमा धाउँदा र सडकमा विलौना गर्दासमेत सरकारले आफ्नो आवाज नसुनेको पीडित राउतले बताए । ‘मैले धेरै गुहार मागेँ, कसैले सुनेनन् । तर आज ऋषि धमला सरको एउटै फोन र पहलले मेरो उपचार सुरु भयो,’ राउतले भावुक हुँदै भने, ‘उहाँ मेरो लागि संकटको सारथि बन्नुभयो ।’
धमलाको यो तदारुकता र तत्काल एक्सन लिने शैलीले माइतीघर मण्डलामा उपस्थित सर्वसाधारण र पीडितहरूमाझ उनको निकै प्रशंसा भएको छ । नेपालको पत्रकारितामार्फत जनताको समस्या समाधानमा सधैँ अग्रपंक्तिमा देखिने धमलाले पुनः एकपटक आफ्नो अब्बल सामाजिक उत्तरदायित्व पूरा गरेको भन्दै प्रत्यक्षदर्शीहरूले उनीप्रति आभार प्रकट गरेका छन् ।



प्रतिक्रिया