काठमाडौं, असार ३२ । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०को गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ ।
तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको हो । गठबन्धनमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई सहभागी रहेका थिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री भट्टराईले अन्य प्रदेशमा कांग्रेस–एमालेबीचको राजनीतिक सहकार्य अन्त्य भए पनि मधेस प्रदेशमा भने वर्तमान राजनीतिक समीकरणलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए । उनले प्रदेशको राजनीतिक स्थायित्वलाई ध्यानमा राख्दै तीन दलबीचको सहकार्यलाई कायम राख्ने निर्णय भएको बताए।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले तीन दलको सत्प्रयासबाट प्रदेशको बजेट पारित भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताए ।
उनले अन्य प्रदेशको राजनीतिक समीकरणभन्दा मधेस प्रदेशको अवस्था फरक रहेको उल्लेख गर्दै स्थायित्व, समृद्धि र विकासलाई केन्द्रमा राखेर तीन दल एकताबद्ध भएर अघि बढ्ने निर्णय गरिएको जानकारी दिए ।
नेपाली कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले यहाँको राजनीतिक अवस्था फरक रहेकाले वर्तमान राजनीतिक समीकरणलाई कायम राख्ने सहमति भएको बताए ।



प्रतिक्रिया