काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ मा वार्षिक ६ लाख मेट्रिकटन रासायनिक मल आपूर्तिको लक्ष्य राखेकोमा असार २४ गतेसम्म करिब ९४ प्रतिशत प्रगति हासिल भएको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस अवधिमा ५ लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन मल आपूर्ति भइसकेको छ ।
गत आर्थिक वर्षमा रासायनिक मलका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । असार २४ सम्म कुल ४ लाख ९१ हजार ३०० मेट्रिकटन मल खरिदका लागि टेण्डर प्रक्रियासमेत पूरा भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म दुई कम्पनीमार्फत ३ लाख २७ हजार ५७९ दशमलव ८० मेट्रिकटन युरिया, २ लाख ३ हजार ४२६ दशमलव ३० मेट्रिकटन डीएपी र ३० हजार ४८७ दशमलव ७५ मेट्रिकटन पोटास आपूर्ति गरिएको छ ।
असार २४ गतेसम्म देशभरका गोदामहरूमा कुल ९२ हजार ५९२ दशमलव ३५ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ । जसमा ४९ हजार १०४ दशमलव ३० मेट्रिकटन युरिया, २४ हजार १२ दशमलव ८५ मेट्रिकटन डीएपी र १९ हजार ४७५ दशमलव २० मेट्रिकटन पोटास छ ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको मौज्दात समेत जोडेर समीक्षा अवधिमा कुल ५ लाख १८ हजार २७८ दशमलव ५५ मेट्रिकटन मल बिक्री भएको छ । बिक्री भएको मलमा ३ लाख ७ हजार १६ दशमलव ६० मेट्रिकटन युरिया, १ लाख ९२ हजार ९३१ दशमलव १५ मेट्रिकटन डीएपी र १८ हजार ३३० दशमलव ८० मेट्रिकटन पोटास रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
हाल २८८ दशमलव ७५ मेट्रिकटन रासायनिक मल बाह्य मार्गबाट ढुवानीका क्रममा रहेको छ । यसमा ८६ दशमलव ०५ मेट्रिकटन युरिया र २०२ दशमलव ७० मेट्रिकटन डीएपी छ ।



प्रतिक्रिया