काठमाडौं । नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले नयाँ बन्न लागेको १३ वटा कृषि सम्बन्धी विधेयकमा महिला किसानलाई प्राथमिकता दिई उनीहरूको सशक्तीकरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्।
प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद अवालले अधिकांश युवा पुरुष वैदेशिक रोजगारीमा गएकाले गाउँघरको कृषि उत्पादनको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेको बताइन्।
उनले घाँस–दाउरा संकलनदेखि खेतीपातीसम्मका अधिकांश काम महिलाले नै गरिरहेको उल्लेख गर्दै कृषि नीति तथा कानुनमा महिला किसानका हक, अवसर र सशक्तीकरणलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
बैठकमा उनले कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई साउन १६ गते मनाइने राष्ट्रिय कोदो दिवसको स्मरण गराउँदै यस वर्ष पनि सरकारी स्तरबाट भव्य रूपमा मनाउन आग्रह गरिन्।
उनले भनिन्, `कोदो दिवस आउँदैछ मन्त्रीज्यू। गत वर्ष हामीले पहिलो राष्ट्रिय कोदो दिवस मनाएका थियौँ। कोदो जलवायु परिवर्तन सहन र त्यसअनुकूल उत्पादन गर्न सक्ने महत्वपूर्ण अन्नबाली हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तत्कालीन कृषि मन्त्री रामनाथ अधिकारीको कार्यकालमा कोदो दिवस घोषणा गरेको थियो। यस वर्ष पनि कृषि समिति, कृषि मन्त्रालय र सरकारले देशभर यसको प्रचारप्रसार गर्दै कोदो दिवस मनाऔँ।´
सांसद अवालले कोदो अत्यधिक पौष्टिक, कम पानीमा पनि उत्पादन गर्न सकिने तथा जलवायु परिवर्तनका चुनौतीसँग सामना गर्न सक्षम बाली भएकोसमेत बताइन्।




प्रतिक्रिया