चक्रपथमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँए, १० जना घाइते


काठमाडौं, साउन १ । काठमाडौं महानगरपालिका–४ महाराजगन्जस्थित चक्रपथ नजीकै भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँएका छन् ।

चाबहिलबाट चक्रपथतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बिआर ०६ डिडी ६०६३ नम्बरको कार, बा२ज ३५७८ नम्बरको ट्याक्सी, लु११प४९७५, बा७३ज ३७२३ र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा काठमाडौंको मनमैजु बस्ने १५ वर्षीया सिवानी शाही, निजका भाई १० वर्षीय सुशान्त शाही, ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय बिकी साह, भक्तपुर बस्ने ४१ वर्षीय ऊर्जा लामा, बसुन्धारा बस्ने ६५ वर्षीया कुन्तिमाया लिम्बू घाइते भएका छन् ।

यस्तै, ललितपुरको इमाडोल बस्ने १८ वर्षीय निउजित, वसुन्धारा बस्ने ५७ वर्षीया विष्णुमाया खापुङ, थानकोट बस्ने २५ वर्षीया पार्वती तामाङ, उदयपुरका २५ वर्षीय विनोद थापा मगर र नलपुरका २२ वर्षीय जीवन राना मगर घाइते भएका छन्। दुर्घटनामा संलग्न सबै सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।