जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते


काठमाडौं, साउन ३ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आइतबार बिहान भएको दुर्घटनामा ३० जना घाइते भएका छन् । दुई वटा बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका कारण केही समय सडकमा रोकिएका सवारीसाधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन् ।