मदन पुरस्कार २०८२ को ‘श्रेष्ठ सूची’मा कुन-कुन कृति परे ?


काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० उत्कृष्ट कृतिको सूची (श्रेष्ठ सूची) सार्वजनिक गरेको छ । गुठीका अनुसार यस वर्ष पुरस्कारका लागि विभिन्न विधाका कुल २९८ पुस्तक प्राप्त भएका थिए । प्राप्त पुस्तकहरूमध्ये मूल्यांकन प्रक्रियापछि १० कृतिलाई अन्तिम सूचीमा छनोट गरिएको हो ।

छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार याको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी)को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन् ।

त्यस्तै उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि उत्कृष्ट १० को सूचीमा पर्न सफल भएका छन् ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी प्रेस विज्ञप्ति अनुसार छनोट भएका यी १० कृतिमध्ये उत्कृष्ट ठहर्याइएको एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिनेछ ।