गैरकानूनी रूपमा वस्तु बिक्री–वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गरिने


काठमाडौँ, साउन ४ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा गैरकानूनी रूपमा वस्तु बिक्री–वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।


विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना नं. ०३/०८३–८४ जारी गर्दै लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका वस्तुको उत्पादन, आयात, सञ्चय र बिक्री–वितरणमा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने जनाएको हो।


विभागका अनुसार भौतिक बजारसँगै डिजिटल (अनलाइन) प्लेटफर्ममार्फत पनि दैनिक उपभोगका खाद्यवस्तु, पेय पदार्थ तथा लत्ताकपडा अवैध रूपमा बिक्री भइरहेको भन्ने उजुरी र जनगुनासो बढ्दै गएपछि यस्तो सूचना जारी गरिएको हो।
सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै कानुनविपरीत गरिने मिसावट, चोरी पैठारी तथा कम गुणस्तरका वस्तुको कारोबार दण्डनीय अपराध भएको स्मरण गराइएको छ।


मन्त्रालयको स्वच्छ र व्यवस्थित बजार व्यवस्थापन नीतिअनुसार उत्पादन, पैठारी, ढुवानी, सञ्चय तथा बिक्री–वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोकेका दायित्व, सर्त र मापदण्ड पूर्ण रूपमा पालना गर्न विभागले निर्देशन दिएको छ।


विभागले आगामी दिनमा बजार अनुगमनलाई अझ प्रभावकारी बनाइने जनाएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकारमा प्रतिकूल असर पर्ने गरी गैरकानूनी व्यापार गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।