कर्मचारीको आन्तरिक मिलान गर्ने सरकारको निर्णय


काठमाडौं, साउन ४ । सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार स्वीकृत दरबन्दीमा रहने विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवस्तरीय बैठकले स्वीकृत दरबन्दीमा रहने विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने निर्णय गरेको हो ।

यसरी मिलान गर्दा बढीहुने (फजुल) कर्मचारीलाई भूमि व्यवस्थापन, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशान मन्त्रालयले सङ्घीय कार्यालय, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी ती निकायले रिक्त स्थानमा कामकाजमा खटाउने व्यवस्था मिलाइने र यसले कर्मचारीलाई कामविहीन हुने अवस्था आउन नदिने निर्णयमा उल्लेख छ ।

निर्णयमा समावेश भएअनुसार नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अनुरुप सङ्घीय सरकारका विभिन्न दरबन्दी घट्दा फजुलमा रहने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिविना सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगराउने उल्लेख गर्दै स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने/नगराउने भनिएको छ ।

मुख्यसचिव कार्कीसहित सचिवस्तरीय बैठकले गरेका निर्णयमा मन्त्रालय, विभाग तथा कार्यालय प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्ने उल्लेख छ । यसैगरी सेवा, प्रवाह, विकास आयोजना कार्यान्वयन, बजेट खर्च, गुनासो व्यवस्थापन र नागरिक सन्तुष्टिलाई प्रमुख कार्यसम्पादन सूचकका रूपमा समावेश गरी नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने निर्णय भएको मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ ।

साथै, सबै कर्मचारीलाई अनुसाशित, नैतिक र सदाचारयुक्त बनाउन विद्यमान कानुन बमोजिमको आचरण पालनामा जोड दिँदै राष्ट्रिय सदाचार नीति, २०८३ को प्रभावकारी कार्यान्वयन गर्ने निर्णय आजको बैठकले गरेको छ ।