चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन


दाङ, ५ साउन । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयले उक्त आवमा पाँच अर्ब पाँच करोड ३३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो । सङ्कलित राजस्वमध्ये आयकरतर्फ दुई अर्ब ३८ करोड ८१ लाख पाँच हजार, मूल्य अभिवृद्धितर्फ एक अर्ब १८ लाख ६६ हजार, अन्तःशुल्कतर्फ ७७ करोड २६ लाख ९८ हजार र अन्यतर्फ १४ करोड ३४ लाख ५१ हजार छ । उक्त कर सङ्कलन अघिल्लो आवको तुलनामा ८.९३ प्रतिशत बढी हो ।

करिब एक लाख करदाता भएको उक्त कार्यालय मातहत दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम रहेका छन् ।

जेनजी आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन, अन्य कागजता जलेर नष्ट भए पनि सेवा प्रवाह भने रोकिएको थिएन । केही समय तुलसीपुर उद्योग वाणिज्य सङ्घको भवनबाट नागरिकको सेवामा जुटेको त्यस कार्यालयले केही समयदेखि त्रिसिद्देश्वर मन्दिरको धर्मशाला भाडामा लिई सेवा प्रवाह गरिरहेको छ ।

करदाताको क्षमता अभिवृद्धि गर्नका लागि गत आवमा कार्यालयले विभिन्न १८ स्थानमा करसम्बधी सचेतना र प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

गत आवमा त्यस कार्यालयबाट चार हजार २९५ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २८ हजार ३८० ले व्यक्तिगत स्थायी लेखा नम्बर र चार हजार ९२२ जनाले अन्तःशुल्क इजाजतपत्र नवीकरण तथा दर्ता गरेको कर अधिकृत पुनले जानकारी दिए ।