नयाँ दिल्ली, ६ साउन । उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङ्ग भित्र मिथेन ग्यास चुहावटका कारण भएको विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको उल्लेख गर्दै अन्य पाँच जना टनेल भित्रै फसेको आशंका गरिएको प्रहरीले बुधबार जनाएको छ । प्रहरी अधिकारीहरूका अनुसार विस्फोट हुँदा २५ जना उक्त टनेल भित्र रहेका थिए ।
सुरुङ्ग भित्र फसेका २५ जना मध्ये २० जनाको मृत्यु भएको पुष्टि भइ सकेको वरिष्ठ प्रहरी अधिकारी सोनम डी भुटियालाई उदृत गर्दै मिडियाले रिपोर्ट गरेका छन् ।
भारतमा सञ्चालित नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) द्वारा सञ्चालित ७ किलोमिटर लामो निर्माणाधीन सुरुङ्ग भित्र विस्फोट भएको घटनास्थलबाट आएको प्रारम्भिक अनुसन्धान रिपोर्टले जनाएको छ । पीडितहरूमा एनएचपीसीका उच्च–स्तरीय कर्मचारीहरू रहेको जनाइएको छ जो सुरुङ्ग भित्र नियमित निरीक्षणको काम गरिरहेका थिए ।
एनएचपीसीले विज्ञप्ति जारी गर्दै घटना “चट्टान भित्र जडित मिथेन ग्यासको अचानक विस्फोटको कारण भएको उल्लेख गर्दै विस्पोटको परिणामस्वरूप घटना स्थलमा धुवाँ र विषाक्त ग्याँसहरू फैलिएको जनाएको छ ।
एनएचपीसी जलविद्युत कम्पनीले भने घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान गरिने बताएको छ । रासस




प्रतिक्रिया