नेपालमा ‘म्याक्सस इटेरोन–९ कम्फर्ट’ सार्वनिक, यस्ता छन् विशेषता


काठमाडौँ । नेपालका लागि म्याक्सस सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रालिले नयाँ शक्तिशाली र प्रिमियम इलेक्ट्रिक फोर-ह्विल ड्राइभ पिकअप  ‘इटेरोन ९ कम्फर्ट’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले याे पिकअपको सुरुआती विशेष मूल्य ८८ लाख रुपैयाँ तोकेको छ । यो मूल्य पहिलो ५० ग्राहकका निम्ति मात्र लागु हुने कम्पनीले जनाएको छ ।

यसमा १०२.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ । यसले एनईडीसी मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा ५६० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

म्याक्सस ईटेरोन ९ कम्फर्टमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुई विद्युतीय मोटर जडान गरिएको छ । दुवै मोटरले संयुक्त रूपमा ७०० एनएम टर्क उत्पादन गर्छन् । गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमा लिन सक्ने र अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।

पिकअपको उपयोगितातर्फ यसले १,०५० किलोग्रामसम्म सामान बोक्न सक्ने क्षमता राख्छ । ब्रेकसहितको टोइङ क्षमता ३५०० किलोग्रामसम्म छ । यसको कार्गो बक्सको लम्बाइ १,५६९ मिलिमिटर, चौडाइ १,५०० मिलिमिटर र उचाइ ५३५ मिलिमिटर छ ।

नेपालका विभिन्न भौगोलिक अवस्था र सडकलाई ध्यानमा राख्दै गाडीमा विभिन्न भूभागमा चलाउन मिल्ने प्रणाली उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसले ५४५ मिलिमिटर गहिराइसम्मको पानी पार गर्न सक्ने क्षमता राख्छ । गाडीको एप्रोच कोण २९ डिग्री र डिपार्चर कोण २५ डिग्री छ ।

​कम्पनीका अनुसार यो गाडी दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एड्भेन्चर र व्यावसायिक प्रयोगका लागि अत्यन्तै उपयुक्त रहेको छ ।