‘अहिले पञ्चायतकालभन्दा पनि बर्बर शासन चल्यो’– ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गर्दै देशमा पञ्चायतकालभन्दा पनि बढी दमनकारी र बर्बर शासन चलिरहेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारविरुद्ध कडा प्रहार गरेका हुन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले पञ्चायती व्यवस्थाको निरंकुशतासँग तुलना गर्दै भने, ‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन।’ उनले आफूलाई पक्राउ गर्ने क्रममा राज्य शक्ति र प्रहरी प्रशासनको दुरुपयोग गरी बर्बरतापूर्वक दमन गरिएको दाबी गरे। आफूलाई पक्राउ गर्दा शान्तिपूर्ण विरोधमा उत्रिएका पार्टीका नेता तथा कार्यकर्तामाथि राज्यले अन्धाधुन्ध दमनचक्र चलाएको उनको आरोप थियो।
अध्यक्ष ओलीले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै हिजोका दिनमा प्रहरीमाथि नै सास्ती दिने तत्वहरूको इशारामा आज प्रहरी तिनैको आदेशमा जनता र विपक्षीमाथि दमनमा उत्रिनु दुःखद् भएको बताए।
सरकारको कार्यशैली नसुध्रिए कडा प्रतिवाद हुने ओलीले चेतावनी दिएका छन् ।