काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अरूको आलोचना गरेर वा उत्तेजनात्मक राजनीतिमा अल्झिएर कसैले पनि आफ्नो गन्तव्य पहिल्याउन नसक्ने स्पष्ट पारेका छन्। बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसद्वारा काठमाडौँमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कांग्रेसको राजनीतिक बाटो, भावी दिशा र सामाजिक रूपान्तरणको खाका प्रस्तुत गरेका हुन्।
सम्बोधनका क्रममा शर्माले अरूले गर्ने हरेक आलोचनाको प्रतिवादमा शक्ति खर्चिँदा पार्टीको मूल लक्ष्य र रूपान्तरणको यात्रा ओझेलमा पर्न सक्ने चेतावनी दिए। उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं जननायक बीपी कोइरालाको सिद्धान्त र दर्शनलाई समयानुकूल परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
उपसभापति शर्माले क्रान्तिका लागि ज्यानको आहुति दिने योद्धाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै अबको युगमा सामाजिक रूपान्तरण, सुशासन र समृद्धिका लागि सक्षम नयाँ सोच भएका युवाको आवश्यकता रहेको बताए।
पार्टीभित्रको नयाँ कार्यशैलीबारे चर्चा गर्दै उनले बीपीको सिद्धान्तलाई आधुनिक युगको मागअनुसार अगाडि बढाउन सभापति गगन थापा नेतृत्वको सिङ्गो टोली नयाँ ढङ्ग, नयाँ सोच र दृढ सङ्कल्पका साथ अघि बढ्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारे।




प्रतिक्रिया