अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त, सुदृढ आर्थिक कूटनीति मुख्य प्राथमिकता


काठमाडौं, ८ साउन । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार सम्पन्न एचसिसीएनको साधारणसभाले नयाँ डिनमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि नेपालका लागि बुल्गेरियाका महावाणिज्यदूत भोला थापा डिन थिए । सम्मेलनले एचसिसीएनको भाइस डिनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।

नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी नेपाल भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताए । उनले नेपाल र अन्तरराष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय रूपमा अघि बढ्ने बताए ।

उनले एचसिसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै ती राष्ट्रहरूले विश्व अर्थतन्त्र, अन्तरराष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे । पाँच अर्बभन्दा बढी जनसङ्ख्या र १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढीको संयुक्त आर्थिक आकार भएका ती मुलुकसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ ।

वैद्यले नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सृजना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तरराष्ट्रिय व्यापार बढाउने लक्ष्य लिएको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको महत्व झनै बढेको बताए । मानार्थ वाणिज्यदूतहरूले सरकार–सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबीच सहकार्य विस्तार गर्ने सेतुको भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे ।

कार्यक्रमका मुख्यवक्ता परराष्ट्र मामिला विश्लेषक तथा नेपाली सेनाका पूर्वमेजर जनरल बिनोज बस्न्यातले नेपालले बदलिँदो विश्व राजनीतिक परिवेशलाई अवसरका रूपमा उपयोग गर्दै आर्थिक कूटनीति, संस्थागत सुधार र रणनीतिक विदेश नीतिमार्फत राष्ट्रिय हित प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

उनले विश्व शक्ति सन्तुलन, इन्डो–प्यासिफिकको बढ्दो महत्व र भूराजनीतिक प्रतिस्पर्धाबीच नेपालले स्पष्ट रणनीति, राष्ट्रिय आत्मविश्वास र सक्रिय कूटनीति अपनाउनुपर्ने बताए । बस्न्यातले नेपालको विदेश नीति सक्रिय असंलग्नता, छिमेकीसँग सन्तुलित सम्बन्ध, क्षेत्रीय सहकार्य र ‘स्मार्ट डिप्लोमेसी’मा आधारित हुनुपर्ने उल्लेख गर्दै कूटनीतिलाई लगानी, प्रविधि, ज्ञान र विकास भित्र्याउने प्रभावकारी माध्यम बनाउनुपर्ने धारणा व्यक्त गरे ।

उनले नेपालसँग रहेका ४१ दूतावास, तीन स्थायी नियोग, १० महावाणिज्य दूतावास र ६४ अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतको सञ्जाललाई विदेशी लगानी, नवप्रवर्तन, ज्ञान आदानप्रदान र विकास साझेदारी विस्तारका लागि प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

एचसिसी–एनका निवर्तमान डिन भोलाविक्रम थापाले एचसिसीएनलाई आर्थिक कूटनीतिमा सरकारको रणनीतिक साझेदार बनाउने उद्देश्यसहित विदेश मन्त्रालयसमक्ष समझदारीपत्र (एमओयू)को मस्यौदा पेस गरिएको बताए । उनले ६४ देशको सञ्जालमार्फत नेपालमा विदेशी लगानी, प्रविधि हस्तान्तरण, व्यापार, पर्यटन र कनेक्टिभिटी प्रवर्द्धनमा एचसिसीएनले ‘फोर्स मल्टिप्लायर’को भूमिका निर्वाह गर्न सकिने बताए ।

उनले राहदानी विभागसँग सेवाग्राहीको लाइन व्यवस्थापन प्रणाली सुधारका लागि पनि प्रस्ताव पेस गरिएको जानकारी दिँदै आवश्यक औपचारिक स्वीकृतिपछि कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे ।