बाजुरा । लगातारको भारी वर्षापछि बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड क्षेत्रमा पहिरोले खोला थुनिँदा बस्तीमा बाढी पसेको छ। अचानक आएको बाढीका कारण १६ घरपरिवार प्रभावित भएका छन् भने तीन परिवार पूर्ण रूपमा विस्थापित बनेका छन्।
शुक्रबार बिहान करिब साढे ३ बजे घरमाथिबाट खसेको पहिरोले सेलागाड खोला थुनिँदा पानीको बहाव बस्तीतर्फ सोझिएको थियो। घटनाको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली उद्धार तथा राहत कार्यका लागि घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार बाढीका कारण तीन परिवारका घर पूर्ण रूपमा क्षतिग्रस्त भई बस्नै नमिल्ने अवस्थामा पुगेका छन्। ती परिवारका २२ जना अहिले खुला स्थानमा आश्रय लिएर बस्न बाध्य छन्। यस्तै, थप १३ घरधुरी उच्च जोखिममा परेकाले ८३ जना सर्वसाधारण घर छाडेर सुरक्षित स्थानमा सारिएका छन्।
अचानक घरभित्र बाढी पसेपछि आत्तिएकी स्थानीय ३० वर्षीया एक महिला बेहोस भएकी थिइन्। उनको जिल्ला अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बाढीले भौतिक पूर्वाधारमा समेत क्षति पुर्याएको छ। बडिमालिका नगरपालिका–८ राप्कास्थित टोड्के सिँचाइ आयोजनामा बाढीले करिब २५ मिटर पक्की नहर र २३० मिटर प्लास्टिक पाइप बगाएको छ।
सुरक्षाकर्मीको टोलीले स्थानीयको धनमाल सुरक्षित स्थानमा सार्न, उद्धार गर्न र जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गर्न सहयोग गरिरहेको छ।




प्रतिक्रिया