रौतहट । सत्तारुढ दल रास्वपाका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार गरेका छन्। बिहिबार राति गढीमाई नगरपालिका- ७, पर्सामा आयोजना गरिएको स्थानीय कार्यक्रम सकेर फर्किने क्रममा उनीमाथि ‘मधेश मुक्ति अभियान’ का कार्यकर्ताहरूले कालो मसी दलेका हुन्। सांसद पौडेल गत फागुन २१ गते सम्पन्न भएको चुनावमा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएूका थिए ।
स्थानीय नागरिकका समस्या तथा कृषि क्षेत्रमा देखिएको मलखादको अभाव जस्ता विषयमा छलफल गर्न आयोजना गरिएको ‘जनतासँग भेटघाट कार्यक्रम’ ढिला गरी सकिएपछि राति ८ देखि सवा ८ बजेको बीचमा यो घटना भएको बताइएकाे छ । कार्यक्रम समापन गरी फर्किने तयारीमा रहेका सांसद पौडेललाई पछाडिबाट आएका मास्कधारी व्यक्तिहरूले कालो मसी दलेर भागिसकेका थिए।
फर्किन लागेका बेला चिनजानको मान्छेले अङ्गालो हालेजस्तो गरी पछाडिबाट आएर ढाडमा कालो मसी (कालो पदार्थ) दलेर भागेको बताइएको छ । मसी दल्ने समूहको हातमा रातो झण्डा र पर्चाहरू रहेको तथा उनीहरू‘‘मधेश मुक्ति अभियान’ सँग सम्बद्ध रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनापछि तुरुन्तै प्रहरीलाई खबर गरिएको र संलग्नहरूको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया