दाहालको स्वीकारोक्ति: ‘हामीबाटै ठूलै त्रुटि भयो, अब निर्मम समीक्षा आवश्यक’


काठमाडौँ । मुलुक अहिले सुगौली सन्धिपछिकै सम्भवतः सबैभन्दा जटिल र संवेदनशील मोडबाट गुजरिरहेको निष्कर्ष निकाल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक संकट सिर्जना हुनुमा आफ्नै तर्फबाट समेत गम्भीर त्रुटि भएको सार्वजनिक रूपमै स्वीकार गरेका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रद्वारा शुक्रबार राजधानीमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले विगतका कमजोरीहरूको निर्मम र वैज्ञानिक समीक्षा नगरी अहिलेको चुनौती पार लगाउन नसकिने स्पष्ट पारे।
‘हामीले कहीँ न कहीँ ठूलै त्रुटि गरेका छौँ। भयानक परिस्थिति सिर्जना हुने, आँखैअगाडि नेपालका धरोहर, पार्टी कार्यालय र इतिहास जलाइने परिघटना के कारणले भयो ? यसमा साम्राज्यवाद वा बाह्य शक्तिले हस्तक्षेप गर्‍यो भनेर मात्र पन्छिन मिल्दैन’– दाहाल ।
भदौ २३ र २४ गतेका परिघटनाहरूतर्फ संकेत गर्दै दाहालले तत्कालीन समयमा राज्यका सुरक्षा निकायहरूले देखाएको भूमिकालाई ‘इतिहासकै ठूलो निरीहता’को संज्ञा दिए। उनले भने, ‘भदौको घटनामा नेपालको सुरक्षा निकायको निरीहता आफ्नै आँखाअगाडि देख्नुपर्‍यो। यो सुगौली सन्धिपछिकै धेरै ठूलो निरीहता र संकटको सूचक हो।’
अहिले राष्ट्रिय स्वाधीनतामाथि चौतर्फी दबाब र बाह्य हस्तक्षेप निकै बढेर गएको दाबी गर्दै उनले यही मौकामा प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेको बताए। यद्यपि वर्तमान जटिल अवस्थालाई हेर्ने र बुझ्ने दृष्टिकोणमा राजनीतिक वृत्तमा अझै फरक-फरक धारणा रहेको उनको भनाइ थियो।
परम्परागत र जडसूत्रवादी सोचबाट अहिलेको बहुआयामिक समस्याको समाधान सम्भव नरहेको औँल्याउँदै दाहालले वामपन्थी शक्तिहरूलाई गम्भीर आत्मसमीक्षाका लागि आह्वान गरे। सामान्य खालको समीक्षाले मात्रै पुग्ने अवस्था नरहेको दोहोर्‍याउँदै उनले विदेशी शक्तिका अगाडि कहिल्यै नझुकेको नेपाली वामपन्थी आन्दोलनको इतिहास सम्झाए।
अहिले आरोप–प्रत्यारोपभन्दा पनि ‘अब सङ्कटको समाधान कसरी गर्ने’ भन्ने विषयमा केन्द्रित भएर बहस र छलफल चलाउनु नै सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिहरूको हितमा हुने उनको निष्कर्ष थियो।