महेन्द्रनगर, ८ साउन । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको पक्की पुलसँगै बनेको ड्याम (गाइडबण्ड) पुनःनिर्माण सम्पन्न भएको छ ।
यहाँस्थित श्री नं २५ बाहिनी अड्डाको संयोजन र सुदूरपश्चिम पृतनाको सहयोगमा ४०० भन्दाबढी सेना परिचालन गरी ३५० मिटर ड्याम मर्मत तथा पुनःनिर्माण गरिएको हो ।
पुलको उत्तरतर्फको ड्यामको ३५० मिटर भाग पुनःनिर्माण गरी सम्भावित विपद् क्षति न्यूनीकरणमा सहयोग पु¥याएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । पुनःनिर्माणका लागि निर्माण सामग्री र प्राविधिक सहयोग सडक डिभिजनले गरेको थियो ।
त्यसैगरी महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि हाल १५० सेना तयारी अवस्थामा रहेको पृतनाले जनाएको छ ।
सैनिक जनसम्र्पक निर्देशनालयका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले महाकाली नदीमा ड्याम पुनःनिर्माणको सेनालाई दिइएको जिम्मेवारी पूरा गरेको जानकारी दिए ।
“नदीमा जलस्तर बढ्नुअघि नै ड्याम पुनःनिर्माणका लागि दिइएको जिम्मेवारी अहिलेलाई पूरा गरिएको छ”, उनले भने, “ बाढी आएर हुनसक्ने सम्भावित क्षति न्यूनीकरणमा खटिन सेना अझै त्यहाँ तयारी अवस्थामा राखिएको छ ।”
आसन्न मनसुनबाट महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् टार्न गत वर्ष पनि सो ड्याम निर्माणमा काम गरिएको थियो ।




प्रतिक्रिया